एल क्लासिको: यामलको युवा जोस, एम्बाप्पेको गति र मोरिन्होको बदला
काठमाडौं, कात्तिक ९ । विश्व फुटबलका दुई चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिड आज राति स्पेनिस फुटबलको सबैभन्दा प्रतिष्ठित भिडन्त ‘एल क्लासिको’ मा आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार मध्यरातपछि १:४५ बजे सुरु हुने खेलमा बार्सिलोनाका युवा स्टार लामिन यामल र रियल मड्रिडका किलियन एम्बाप्पेको प्रदर्शनसँगै प्रशिक्षक जोसे मोरिन्होको पुनरागमनमा पनि विश्व फुटबलप्रेमीको नजर हुनेछ।
यो भिडन्त तीन अंकका लागि मात्र होइन, लिगको उपाधि होड, दुई क्लबबीचको प्रतिष्ठा र विश्व फुटबलका दुई उदाउँदा तथा स्थापित स्टारको प्रभाव प्रमाणित गर्ने अवसर पनि हो। बार्सिलोना आफ्नो अग्रता थप फराकिलो बनाउने लक्ष्यमा छ भने रियल मड्रिड घरेलु प्रतिद्वन्द्वीलाई नजिकबाट पछ्याउँदै उपाधि दौडलाई रोमाञ्चक बनाउने योजनामा छ।
यसपटकको एल क्लासिकोमा अर्को रोचक पक्ष मोरिन्होको पुनरागमन हो। सन् २०१० नोभेम्बरमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा उनको प्रशिक्षणमा रहेको रियल मड्रिडले ५–० को लज्जास्पद हार बेहोरेको थियो। पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको बार्सिलोनाले त्यस खेलमा देखाएको उत्कृष्ट प्रदर्शनले दुई क्लबबीचको प्रतिस्पर्धालाई थप तिक्त बनाएको थियो। मैदानभित्रको संघर्षसँगै खेलाडी र प्रशिक्षकबीचका कटाक्षले पनि त्यो भिडन्तलाई लामो समय चर्चामा राख्यो।
त्यसको १५ वर्षपछि मोरिन्हो फेरि यही प्रतिष्ठित प्रतिस्पर्धामा फर्किएका छन्। बार्सिलोनाविरुद्ध रियलको पछिल्लो कमजोर नतिजा बदल्नु उनका लागि व्यक्तिगत प्रतिष्ठाको विषयसमेत बनेको छ। तर, यसपटकको भिडन्तमा इतिहासभन्दा वर्तमान प्रदर्शन निर्णायक हुनेछ।
बार्सिलोनाले जारी लिगका सुरुआती नौ खेल जित्दै उत्कृष्ट लय देखाएको छ। टोलीले ती खेलमा ३९ गोल गरेको छ र लिग तालिकामा रियल मड्रिडभन्दा ६ अंकले अगाडि छ। आजको खेल जिते बार्सिलोनाले अग्रता नौ अंक पुर्याउनेछ। रियल विजयी भए दुई टोलीबीचको दूरी तीन अंकमा झर्नेछ। त्यसैले दुवै टोलीका लागि यो खेल उपाधि दौडको दिशा तय गर्न महत्त्वपूर्ण छ।
मोरिन्होले पनि एल क्लासिकोको महत्त्व स्वीकार गरिसकेका छन्। च्याम्पियन्स लिगमा आरबी लाइपजिगलाई ४–१ ले हराएपछि उनले यो लिगको अर्को खेल भए पनि अन्य खेलजस्तो नभएको बताएका थिए। रियलले च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरे पनि घरेलु लिगमा भने अपेक्षाअनुसार स्थिरता कायम गर्न सकेको छैन। लिग तालिकामा एट्लेटिको मड्रिडभन्दा पछाडि रहेको रियलका लागि बार्सिलोनाविरुद्धको जित उपाधि दौडमा फर्किने बलियो अवसर हुनेछ।
बार्सिलोना पनि पूर्ण रूपमा दबाबमुक्त छैन। च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४–२ ले पराजित भएपछि टोलीले जारी सिजनको पहिलो हार बेहोरेको थियो। उक्त खेलमा डिफेन्समा देखिएका कमजोरी र विपक्षीले उपयोग गरेको खाली स्थानले प्रशिक्षक हान्सी फ्लिकलाई रक्षापंक्तिको व्यवस्थापनबारे सोच्न बाध्य बनाएको छ।
एरिक गार्सिया र जुलेस कुन्डे चोटका कारण उपलब्ध नहुँदा बार्सिलोनाको रक्षापंक्ति कमजोर हुन सक्ने चिन्ता छ। मिडफिल्डर डानी ओल्मोको चोटले पनि टोलीको विकल्प सीमित बनाएको छ। बलमाथि नियन्त्रण कायम राख्ने र विपक्षीलाई लगातार दबाबमा राख्ने बार्सिलोनाको रणनीति सफल हुन रक्षापंक्तिबीचको समन्वय महत्त्वपूर्ण हुनेछ।
रियल मड्रिडले भने च्याम्पियन्स लिगमा लाइपजिगलाई ४–१ ले हराउँदै आत्मविश्वास बढाएको छ। तर, टोलीका लागि सबैभन्दा ठूलो समस्या भिनिसियस जुनियरको अनुपस्थिति हुनेछ। निलम्बनका कारण उनले बार्सिलोनाविरुद्ध खेल्न पाउने छैनन्। रियलको आक्रमणमा गति र सिर्जनशीलता थप्ने भिनिसियस नहुँदा मोरिन्होले एम्बाप्पेलाई सहयोग गर्ने खेलाडीको भूमिका पुन: निर्धारण गर्नुपर्नेछ।
यस्तो अवस्थामा एम्बाप्पेको प्रदर्शन रियलका लागि निर्णायक बन्न सक्छ। उनको तीव्र गति र डिफेन्सपछाडि खाली स्थान उपयोग गर्ने क्षमताले बार्सिलोनालाई सतर्क रहन बाध्य पार्नेछ। रियलले बार्सिलोनाको अग्रपंक्तिबाट आउने दबाब पार गर्दै एम्बाप्पेलाई प्रभावकारी पास उपलब्ध गराउन सके खेलको दिशा बदल्न सक्छ। जुड बेलिङहमको चलायमान खेल र अर्दा गुलरको सिर्जनशीलताले पनि रियलको आक्रमणलाई बलियो बनाउन सक्छ।
बार्सिलोनाका लागि भने लामिन यामल मुख्य आकर्षण हुनेछन्। कम उमेरमै विश्व फुटबलमा आफ्नो प्रभाव स्थापित गरेका यामल विपक्षी डिफेन्डरलाई छल्दै अवसर सिर्जना गर्न र खेलको गति बदल्न सक्षम छन्। दायाँतर्फबाट उनको आक्रमणले रियलको रक्षापंक्तिलाई दबाबमा राख्न सक्छ। उनलाई रोक्न थप डिफेन्डर अगाडि आउनुपरे अन्य क्षेत्रमा खाली स्थान बन्नेछ, जसको फाइदा बार्सिलोनाका मिडफिल्डर र अग्रपंक्तिका खेलाडीले उठाउन सक्छन्।
यामलको प्रदर्शनलाई राफिन्हा र पेड्रीको भूमिकाबाट अलग गरेर हेर्न सकिँदैन। यामललाई मात्र रोक्ने रणनीति अपनाउँदा अन्य खेलाडीलाई अवसर मिल्न सक्छ। त्यसैले रियलले बार्सिलोनाको आक्रमण रोक्न सामूहिक रक्षात्मक रणनीति अपनाउनुपर्नेछ।
जारी लिगका नौ खेलमा यामलले आठ गोल र गोलका लागि छ वटा पास उपलब्ध गराएका छन्। एम्बाप्पेले नौ खेलमा नौ गोल र दुई गोलका लागि पास दिएका छन्। यी तथ्याङ्कले दुवै खेलाडीको आक्रमणमा रहेको प्रभाव देखाउँछन्। यद्यपि, उनीहरूबीचको प्रतिस्पर्धा गोल सङ्ख्यामा मात्र सीमित रहनेछैन। विपक्षीको रक्षापंक्तिमा पार्ने दबाब, सहकर्मीका लागि सिर्जना गर्ने अवसर र कठिन परिस्थितिमा खेललाई आफ्नो पक्षमा मोड्ने क्षमताले पनि उनीहरूको प्रभाव निर्धारण गर्नेछ।
एल क्लासिकोको यो भिडन्त बालोन डी’ओर पुरस्कार घोषणाको पूर्वसन्ध्यामा हुँदैछ। त्यसैले यामल र एम्बाप्पेको प्रदर्शनप्रति थप चासो छ। यद्यपि, यस खेलको प्रदर्शन बालोन डी’ओरको यस वर्षको मूल्याङ्कन अवधिमा समावेश हुने छैन। तैपनि, विश्व फुटबलका चर्चित दुई खेलाडीका लागि प्रतिष्ठा र आत्मविश्वास बढाउने अवसर भने हुनेछ।
बार्सिलोनाका लागि जितले लिगमा उत्कृष्ट सुरुआतलाई थप बलियो बनाउँदै रियलमाथि दबाब बढाउनेछ। रियल विजयी भए उपाधि होड पुन: प्रतिस्पर्धात्मक बन्नेछ। मोरिन्होका लागि भने यो खेल बार्सिलोनाविरुद्धको पुरानो हारको स्मृति बदल्ने र आफ्नो टोलीलाई नयाँ दिशा दिने अवसर हुनेछ।
एल क्लासिकोको विशेषता नै यही हो;यहाँ विगतको इतिहास, वर्तमानको लय र भविष्यको सम्भावना एउटै मैदानमा ठोक्किन्छन्। आज राति कीर्तिमान, रणनीति र व्यक्तिगत कौशलको परीक्षा हुँदा यामलको युवा जोसले बाजी मार्छ, एम्बाप्पेको गतिले रियललाई जिताउँछ वा मोरिन्होले आफ्नो पुनरागमनलाई अविस्मरणीय बनाउँछन् भन्ने निर्णय मैदानमै हुनेछ।
एनपीएल : पावर प्लेमा कर्णालीले बनायो ३८ रन, तीन विकेट गुमायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भइरहेको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको
नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गरोस् : गगन थापा
काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्दै









प्रतिकृया दिनुहोस