• शनिबार ७-१५-२०८३/Saturday 10-31-2026

‘काठमाडौं कथा नै कथामा बाँचेको शहर हो’ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं कला, संस्कृति, भाषा र परम्पराले समृद्ध कथा नै कथामा बाँचेको सहर भएको बताएकी छन् ।

शुक्रबार काठमाडौं फिल्म फेस्टिभल २०२६ को उद्घाटन समारोहमा बोल्दै डंगोलले चलचित्रले समाजका कथा, संस्कृति र समुदायलाई जोड्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गर्ने बताइन् ।

उनले आफू करिब पाँच वर्षको हुँदा नेपाल भाषामा बनेको चलचित्र ‘सिलु’ पहिलोपटक हेरेको स्मरण गर्दै चलचित्रले बाल्यकालमै आफ्नो सोचमा गहिरो प्रभाव पारेको बताइन् । गोसाइँकुण्ड तीर्थयात्रामा जाने प्रेमील जोडीको कथामा आधारित उक्त चलचित्र हेरेपछि आफूले सानो उमेरमा श्रीमान्सँग गोसाइँकुण्ड नजाने सोच बनाएको स्मरण गर्दै उनले चलचित्रले मानिसको मन र सोचमा पार्ने प्रभावको उदाहरण प्रस्तुत गरिन् ।

डंगोलले आफ्नो बाल्यकालमा घरमा टेलिभिजन नभएको र शनिबार दिउँसो छिमेकीको घरमा गएर परिवार तथा समुदायका मानिससँगै चलचित्र हेर्ने गरेको बताइन् । चलचित्र हेर्ने क्रममा केवल कथा मात्र नभई सामूहिक अनुभवसमेत बाँडिने गरेको उनले बताइन् । 

उनका अनुसार चलचित्रमा मानिसलाई एकै ठाउँमा ल्याउने र विभिन्न उमेर समूहका मानिसको सोच तथा धारणामा दीर्घकालीन प्रभाव पार्ने शक्ति हुन्छ ।

डंगोलले काठमाडौं सधैँ साझा कथाहरूको सहर रहेको बताउँदै दबु प्याखँ, दिप्याखँ, कार्तिक नाच, नवदुर्गा नाचलगायत सांस्कृतिक परम्पराले शताब्दीयौँदेखि काठमाडौंका कथा सुनाउँदै आएको उल्लेख गरिन् । आधुनिक समयमा त्यही कथालाई चलचित्रको माध्यमबाट अघि बढाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले पहिलोपटक काठमाडौं फिल्म फेस्टिभल आयोजना गरेको उनले बताइन् ।

“काठमाडौं कथा नै कथामा बाँचेको सहर हो,” डंगोलले भनिन्, “आज हामीले सम्पदा यात्रा ग¥यौँ। हरेक पाइलामा केही न केही कथा बोकेको थियो। गुर्जुको पल्टनको आफ्नै कथा थियो, कुमारीको आफ्नै कथा छ, डबलीमा प्रस्तुत नृत्यको आफ्नै कथा छ र बाजागाजाको पनि आफ्नै कथा छ । आज यहाँ काठमाडौं फिल्म फेस्टिभलको अर्को कथा कोरिँदैछ ।”

उनले काठमाडौंका टोल, चोक, ननी, बहा र बहीदेखि विस्तृत महानगर तथा विदेशमा रहेका नेपाली समुदायसम्मका विविध आवाज र कथालाई चलचित्र महोत्सवले समेट्ने बताइन् ।

काठमाडौंलाई युनेस्को सिर्जनशील चलचित्र सहरका रूपमा प्राप्त मान्यताको उपयोग गर्दै विश्वका प्रतिष्ठित सहरहरूसँगको सम्बन्ध र सञ्जालमार्फत स्रोत–साधनले सबल तथा आत्मनिर्भर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बनाउने महानगरपालिकाको लक्ष्य रहेको उनले बताइन् ।

उनले सहरको समृद्धि अग्ला भवन र चिल्ला गाडीबाट मात्र नहुने बताउँदै कला, संस्कृति, भाषा, बाजागाजा, साहित्यलगायत सिर्जनात्मक गतिविधिले सहरलाई जीवन्त बनाउने धारणा राखिन् ।

“हाम्रा कुनै पनि सहर अग्ला–अग्ला भवन र चिल्ला गाडीले मात्र समृद्ध हुन सक्दैनन्। सहरको कला, संस्कृति, भाषा, बाजागाजा, साहित्यजस्ता सिर्जनात्मक क्रियाकलापले नै हाम्रो सहरलाई जीवन्त र समृद्ध बनाउने हो,” उनले भनिन् ।

यसैगरी, हास्य कलाकार हरिवंश आचार्यले राम्रो काम गर्ने हरेक व्यक्ति ‘हिरो’ हुने बताएका छन् । आचार्यले चलचित्रमा अभिनय गर्ने कलाकारलाई मात्र नभई समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने सबैलाई हिरोका रूपमा सम्मान गर्नुपर्ने बताए।

उनले कार्यवाहक प्रमुख डंगोललाई नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै ‘हिरो’को उपाधि दिए ।

“हामी चलचित्रमा काम गर्छौँ, हामीलाई हिरो भन्छन्, हिरोइन भन्छन्। तर राम्रो काम गर्ने मान्छे जो पनि हिरो हो,” आचार्यले भने, “हामी मात्रै हिरो होइनौँ, हरेक क्षेत्रमा आफ्नोतर्फबाट योगदान दिने सम्पूर्ण मान्छे हिरो बन्छन्।”

आचार्यले काठमाडौं महानगरपालिकाले आयोजना गरेको चलचित्र महोत्सव नेपाली चलचित्र क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले कार्यवाहक प्रमुख डंगोलले नेपाली चलचित्र क्षेत्रलाई अभिभावकत्व प्रदान गरेको भन्दै उनको प्रशंसा गरे।

उनका अनुसार काठमाडौं महानगरपालिकाले आयोजना गरेको यो महोत्सव नेपाली चलचित्रको इतिहासमा महत्वपूर्ण र भव्य महोत्सवका रूपमा स्थापित भएको छ। महोत्सवले नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको प्रतिष्ठा बढाउन सहयोग पुगेको उनले बताए । 

“यो चलचित्र महोत्सव गरिदिएर नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको सम्पूर्ण इज्जत बढ्न पुगेको छ,” उनले भने ।

आचार्यले महानगरपालिकाले आयोजना गरेको महोत्सवलाई अझ गरिमामय बनाउन अब नेपाली चलचित्रकर्मीले पनि अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न सकिने गुणस्तरीय चलचित्र निर्माण गर्नुपर्ने बताए ।

उनले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चलचित्र निर्माणका लागि नेपाल आफैँमा विशाल चलचित्र छायांकनस्थल भएको बताए। प्रकृतिले दिएको अनुपम उपहार र पुर्खाले निर्माण गरेका विश्वप्रसिद्ध देवालय तथा मन्दिरलाई चलचित्रमार्फत विश्वसामु प्रस्तुत गर्न सकिने उनले बताए । 

प्रतिकृया दिनुहोस

रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार

काठमाडौं कात्तिक १४ । काभ्रेस्थित रोशी, ललितपुरस्थित बागमती र कोड्कु खोलाले सतर्कता तह पार गरेको छ ।   बाढी पूर्वानुमान महाशाखाका अनुसार, बिहान ११

डोल्पा कारागारबाट सुरुङ खनेर भागे आठ कैदी, भेरी नदी पार गरेर फरार

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गए राति सुरुङ खनेर फरार भएका हुन्

भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

 काठमाडौं कात्तिक १३ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत्

↑